- खगेन्द्र सङ्ग्रौलासहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको अवलोकन गर्न आतुर थियो । उता गाइडचाहिँ चतुर गोराका गहन प्रश्नहरूको सटीक उत्तर दिन सकुँला कि नसकुँला भनेर चिन्तातुर थियो ।
गोरा र गाइड अग्लो गोलाकार पर्खालबीचको वृत्ताकार द्वारबाहिर पुगे । द्वारमाथि मनै हर्ने कलात्मक अक्षरमा 'माप चिडियाखाना' लेखिएको थियो । गोराले आङ्ल भाषामा सोध्यो, "गाइड, यो मापको माने के हो ?"
"माप माने मानव-पशु हो, सर ।"
"असम्भव !" गोराले विस्मय प्रकट...