Lorem ipsum dolor sit amet

त्यो भाग्यमानी बेबी

Rajesh Rai



- अमृता लम्साल
'हाई..बेबी!' एउटी महीलाको लेग्रो तानेको स्वरले मेरो ध्यान खिच्न सफल भयो; मुण्टो फर्काएर हेरें, 'बेबी' त चारखुट्टे पो रहिछ । मलाई लागेकोथ्यो, त्यो ध्यान आकृष्ट गर्ने सम्बोधन कुनै बच्चालाई गरिएको होला भनेर! तर मानवले मानवसँग पाउनुपर्ने मायामा छुच्च्याँई बढ्दै गएपछि चारखुट्टेबाट त्यसको पर्याय बन्न थालेकीहरुकी जमातकी प्रतिनिधि पो रहिछ ऊ त! फूदक फुदक गर्दै आफूलाई स्वर्णसुन्दरी ठान्ने सोह्र बर्षे ठिटीहरु फुद्किएझै गरेर हिडिरहेकी ती चारखुट्टे त हामी केटाकेटी भएका बखत कसैले नराम्रो बचन लाएर गाली गर्दा प्रयोग गर्ने शब्दको प्रतिरूप "कुकूर या कुकूर्नी" पो रहिछ! 

जे होस्! उसलाई देखेपछि मलाई एकपटक डाहा पनि लाग्यो, मैले त्यो दिन सम्म नदेखेको अचम्मको बुट लगाएकी थिई उसले! अनी उसका ढाड हेर्दै छोउँ छोउँ लाग्ने कपडाले बनेका लुगाले ढाकिएका रहेछन। आफ्नो घरमा कुनै चारखुट्टे नभएकोले त्यस्तो देख्दा कहिलेकाहीं पैसाको दुरुपयोग जस्तो पनि लाग्छ मलाई; कम्तिमा पनि उसको लुगा र बुटमा खर्चिएको त्यो पैसा मेरो गाउँको कुनै कुनामा जन्मिएको भुन्टेले पायो भने, उसले जाडोमा एक जोर भोटो र सुरुवाल किनेर लगाउन पाउँथ्यो, अनि तातो दुधको एक घुट्को सुरुप्प पार्न पाउँथ्यो| तर मलाई लागेर मात्र के गर्ने र? मेरो हातमा केही छैन र डगीबुट किनेर लगाइदिनेहरुको आँखामा उनीहरुको "बेबी" जति अमूल्य मेरो गाउँको भुन्टे हुन पनि सक्तैन! अझ छोरी रहिछे भने त, उसले माया त के काया पनि पाउनेमा संकै हुन्छ; किनकी, धनीमानीका घरमा छोरी जन्मिने थाहा भयो र उनिहरुलाई नचाहिएको रहेछ भने पहिल्यै डाक्टरकोमा गएर काया नै सखाप पर्ने योजना बनिसकेको हुन्छ| 

जे होस्! मैले मान्छेहरुको आँखामा चारखुट्टेप्रति अपार स्नेह देखेकी छु, जुन दृष्य कहिलेंकाहीं भुल्नै सकिन्न| यस्तै एउटा दृष्य थियो,एउटी यात्रु महीलाले आफ्नो "बेबी" प्रति बिमानस्थलको यात्रु कक्षमा रहँदा देखाएको; ती महीला कतैबाट आएर आफ्नो गन्तव्यमा प्रस्थान गर्दै थिइन| त्यहाँ उनले केहि घण्टा कुर्नु पर्ने थियो| उनि आएर प्रतिक्षालयको मेचमा बसिन; बेबीको क्यारियरबाट उसलाई निकालिन, मेचमाथि एउटा कपडा ओछ्याइन र उसलाई बिस्तारै तीन चार महिनाको बच्चालाई उसको बिछौनामा सुताए जसरी सुताइन| अनि आफ्नो झोलाबाट केही खाना झिकेर आफ्नो हातैमा राखेर खाना खुवाइन| म टाढा बसेर उनको सबै क्रियाकलाप पछ्याईरहेकी थिएँ; उनको आँखामा अपार मातृत्वको झलक पाइन्थ्यो, ती मातृत्वका पलहरुले त्यो चारखुट्टेलाई ओतप्रोत पर्ने गरी प्रेम न्यछयावर गरिरहेको थियो| करीब दुई घण्टा उनी त्यहाँ बसिन, त्यो समयभर एउटा हातमा किताब थियो जसलाई उनले समय कटाउने माध्यम बनाएकी थीइन भने अर्को हात अनबरत रुपमा बेबिको ढाड सुम्सुम्याउन ब्यस्त थियो| यी दृष्यले मलाई फेरी एकपटक मेरो देशको कुनै कुनामा जन्मिएका कान्छी, भुन्टी, चमेली, जुरेली, हर्के, बिर्खे, रामे, श्यामेको जीवनमा पुर्यायो, उनिहरु मध्धे कति उनिहरुका आमाहरुबाट त्यस्ता मायालु सुम्सुम्याई पाउने भाग्यमानी होलान? अनि कतिले आमाको हात चाट्दै तात्तातो खाना खान पाएका होलान? मलाई कहीलेकाहीं लाग्छ, यहाँका महिलाहरुले आफ्ना चारखुट्टे बेबीहरुलाई दुध चुसाउन मिल्ने भए आफ्नै स्तनबाट दुध चुसाउन पनि पछी पर्दैन थिएहोलान! ती चारखुट्टेहरु कती भाग्यमानी हुन ?

तर मेरो देशको कुनै कुनामा जन्मिएकी मानवका बच्चाहरुले उनीहरुको आमाको स्तनबाट आफ्नो मन लागेको बेलामा दुध चुस्न खोजे भने, दिनभरीको मेलापातले थाकेकी, आफूनै कूपोष्णको शिकार भएर गलीसकेकी आमा झर्किदैं उनलाई टाढा घचेटेर अप्रीय शब्दबाणको बर्षा गर्छिन्,"मर्न नसकेर कती यो लाम्टा लुछिरहेको होला?" जब म त्यो अतीतमा पुग्छु, अनि आफ्नै मनसित प्रश्नको हल खोज्न खोज्छु; त्यो स्थितिको जिम्मेवार को त? त्यो आमाको लाम्टाबाटै आफ्नो जीवनको अस्तित्व कायम राख्न खोज्ने ती अबोध शीशुहरु या ती आमा जसलाई समाजले 'तेरो अस्तित्व भनेको, लोग्नेलाई खुशी पार्नु र उसको बंश चलाऊनु मात्रै हो" भनेर चाहेर या नचाहेरै पनि छोरा छोरीको बथान थुपार्न बिवश बनाउने समाज? मसँग त्यस्को जवाफ पनि छैन; किनकी, म पनि त्यही समाजकी एक्ली सदस्यमात्र हुँ, जसलाई चेतना त छ तर अरुको निर्णयमा हस्तछेप गर्ने अधिकार पटक्कै छैन| 

सोच्दा सोच्दै मेरो ध्यान कुनै चारखुट्टेले आफ्नो मालिक या मालिक्नीको अनुहार यती लामो जिब्रो निकालेर लप लप पारेको सत्य तिर तानिन्छ; उनीहरु खूशीले भावभीभोर हुँदै, त्यो चारखुट्टेलाई सुम्सुम्याउन्दै भन्छन"ओहो,मेरो बेबीले मलाई कती मिठो किस दिएको; तिमी धेरै खुशी छौ जस्तो छ, मैले तिमीबाट यस्तो किस नपाएको धेरै भैसकेको थियो|" मलाई भने फेरी अतीतले झकझक्याउंछ;मेरो अतीतमा त मैले केटाकेटीले बाटाका छेउछाउमा छुटकारा पाएको सौच क्रियालाई मात्र काले, खैरे, राते, भोटे आदिले लपलपाएको देखेको थिएँ| उनिहरुले त्यती बेला आफ्ना जिब्राहरुले त्यती सफा नपारिदिएका भए आफ्ना जुत्ताभरी बोकेर र डुंग डुङ्ती गनाउँदै खुट्टा र जुत्ता पखाल्नको लागि पानीको मूल खोज्दै हिँड्नुपर्थ्यो । तर पनि बिचराहरुले जस पाउँदैनथे| पाउँथे त केबल, लठ्ठी र जुता लिएर लखेट्नेहरुको हुल । मेरो सोच खुरुरुरु दौडन थाल्छ, आखीर जीवन बाँच्ने अर्थ पनि पैसावाल र बिनापैसावालको बीचमा कती फरक रहेछ त? 

मेरो मन फेरी लगाम बिनानै कुद्न थाल्छ, केही समय अगाडि एउटा अंग्रेजी सिनेमा हेर्दै थिएँ, "भ्यालेनतिनो:द लास्ट इम्परर" नामको, जुन सिनेमा फेसनका दुनीयाका उस्ताद भ्यालेनतिनोको साँचैको जीबनमा आधारित छ|त्यहाँ उनको पाँचवटा चारखुट्टे बेबीहरु देखाईएको छ, जो हरबखत उनको अघिपछि दौडिरहनछन| उनीहरुको सेवा गर्ने, सुट बुट लगाएका छुट्टै अर्दलीहरू रहेछन र उनीहरुको बिहानको शुरुआत ती बेबीहरुको दाँत बुरुष लगाएर माझिदिने कार्य बाट सुरुहुँदो रहेछ; यो देखेर मलाई मेरो बालककालको याद आयो| मेरो बालककालमा मैले कहिलेदेखि दाँतमाझ्ने मन्जन र बुरुषको सुबिधा भोग्न थालें म यकिनका साथ बताउन सक्दिन| मैले सम्झिएको त दाउरा बालेर बाँकीरहेको कालो गोलको टुक्रो नै मन्जन अनि भगवानले दिएको हातको चोरी औंला मेरो लागि बुरुष थियो| त्यसमा अलिकति बढी सुविधाभोगी हुन पाइयो भने फिटकिरी र गोलको धुलो मिहीन पारेर पिनेर त्यसैले दाँत माझिन्थ्यो, त्यो चाँही हजुरआमाले सिकाएको, फिटकिरीले दाँत माझ्यो भने दाँतमा किरा लाग्दैन अरे।

अनि म फेरी आजको संसारमा अवतरित हुन्छु, के मान्छेले आफ्नो माया, प्रेम र स्नेहको पर्याय त्यो अमूक पशुलाई नै बनाउन खोजेको हो त? आफ्ना अतृप्त आत्मालाई अलिकति शान्ती पुगोस अनि, ऊबाट कुनै अप्रिय र कर्कश बचन सुन्न नपरोस भनेर । म अझै यसको उत्तरको लागि दिमागी कसरत मै छु |

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

Facebook Query